दफा १४
परीक्षा समिति गठनः
(१) परिषद्मा इन्जिनियरिङ व्यवसायीको रूपमा नाम दर्ता गर्ने प्रयोजनका लागि परीक्षा सञ्चालन गर्न देहाय बमोजिमको परीक्षा समिति रहनेछ:-
(क) परिषद्ले तोकेको सदस्य - संयोजक
(ख) परिषद्ले तोकेको परिषद्का एकजना महिला सहित तीनजना सदस्य - सदस्य
(ग) रजिष्ट्रार - सदस्य-सचिव
(२) परिषद्मा इन्जिनियरिङ व्यवसायीको रूपमा नाम दर्ता गर्नको लागि समितिले कम्तीमा वर्षको दुई पटक तोकिए बमोजिम परीक्षा सञ्चालन गर्नेछ।
(३) उपदफा (१) बमोजिमको परीक्षाको पाठ्यक्रम र परीक्षा सञ्चालन प्रणाली परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ।
(४) समितिले आवश्यक ठानेमा विषयसँग सम्बन्धित विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(५) समितिको काम, कर्तव्य, अधिकार तथा बैठक सञ्चालन गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।